बचतकर्ताको मागलाई राजपत्रमा प्रकाशित गर्न सहकारी पीडितको माग
काठमाडौं । बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरू सोमबार पनि धर्नामा बसेका छन् । सहकारी पीडितले काठमाडौंको बुद्धनगरस्थित सहकारी विभागको कार्यालय अगाडि धर्ना दिएका हुन् ।
सरकारले पीडित सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि धर्नामा बस्नुपरेको उनीहरूको भनाइ छ । सहकारी पीडितहरु बचत रकम फिर्ताको माग गर्दै गत शुक्रबारदेखि धर्नामा बस्दै आएका छन् ।
उनीहरुले सहकारी ‘बचतकर्ताको मागलाई राजपत्रमा प्रकाशित गर’, ‘पीडितलाई पीडा दिएर पीडकलाई साथ दिने राजनीतिक मतियार राजीनामा दे’ लगायत नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन् ।
आफूहरु रहरले नभई दुःख गरी कमाएर भविष्यको लागि भनेर राखेको बचत फिर्ताको लागि आन्दोलनमा आएको उनीहरुको भनाइ छ । आन्दोलनरत एक सहकारी पीडितले राज्यले आफूहरुको पीडा नसुनिदिएको दुखेसो पोखे ।
आफूहरुको बचत फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ ।


