नेपाल दृष्टिविहीन महिला टी-२० विश्वकपमा उपविजेता, भारतसँग ७ विकेटले पराजित
काठमाडौं । श्रीलंकाको कोलम्बोमा भएको ‘पहिलो दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।
आइतबार भएको फाइनल खेलमा नेपाल भारतसँग सात विकेटले पराजित हुँदै उपविजेता बनेको छ ।
जितका लागि नेपालले प्रस्तुत गरेको एक सय १५ रनको लक्ष्य भारतले १२.१ ओभरमा पूरा गरेको हो । भारतका लागि फुला सरेनले अविजित ४४ र करुना कुमारीले ४२ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३३ रन बनाए । विमला राईले २६ रन जोडिन्।
नेपालले सेमिफाइनलमा पाकिस्तानलाई हराएर फाइनलमा स्थान बनाएको थियो । दृष्टिविहीन महिला टी–२० विश्वकप पहिलो पटक आयोजना भएको हो ।


