एमाले-कांग्रेसलाई अपमान गरी प्रधानमन्त्रीले तमासा देखाइन्: ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन गराउने मनशाय नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन नसक्ने जिकिर गरे । ओलीले निर्वाचनयोग्य वातावरण नभएकाले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको उल्लेख गर्दै त्यसै गरेर एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नुपरेको बताए ।
अध्यक्ष ओलीले भने,‘म सम्माननीय राष्ट्रपतिजीलाई पनि भन्न चाहन्छु, प्रधानमन्त्रीलाई पनि भन्न चाहन्छु तपाईं यतिबेला भएको कारणले निर्वाचन गराउनु हुन्छ भने खुरुखुरु गराउन हुन्छ भने गराउनुस् । शान्तिपूर्ण वातावरण बनाउनुस्, हतियार फिर्ता ल्याउनुस् । अपराधीहरुलाई नियन्त्रणमा ल्याउनुस् । निर्वाचनयोग्य वातावरण बनाउनुस् । धेरै ब्याख्या गर्न चाहन्न । गराउनुस् । त्यो तपाईंले सक्नु हुन्न । तपाईंको त्यो मनसाय पनि देखिदैन । तपाईले गरेको वार्ता कस्ता छन ? १२५ वटा पार्टी बोलाएर वार्ता गरेको रे । यो एमाले, कांग्रेस जस्ता पार्टीहरुलाई अपमान गरेको हो यो १२५ वटा पार्टीहरुसँग वार्ता गरेको भनेर । यो तमासा हो ।’
अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसका कुनै पनि काम आफूहरुलाई मान्य नहुने बताए ।


