बारामा जेनजी र प्रहरीबिच झडप
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ अन्तर्गत सिमरा चोकमा जेनजी र प्रहरीबिच झडप भएको छ। जेननीहरू बिहानैबाट सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन्। सडक अवरुद्ध भएपछि अहिले प्रहरी र जेनजीबिच झडप भएको हो ।
नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवाबीच भएको झडपका कारण सडक अवरुद्ध भएको हो ।
बिहीबार बिहानैबाट युवाहरू सडकमा निस्किएका छन् । प्रहरी/प्रशासन र युवाबीच बुधबार बेलुका भएको सहमति पश्चात सडक सञ्चालनमा आए पनि युवाहरूले बजारमा प्रदर्शनसँगै टायर बालेर नाराबाजी गरिरहेका छन् ।
बुधबार एमालेले बाराको परवानीपुरमा मधेस प्रदेशस्तरीय जनजागरण सभा कार्यक्रम राखेको थियो। उक्त सभालाई सम्बोधन गर्न काठमाडौंबाट पार्टी महासचिव शंकर पोखरेल, युवा नेता महेश बस्नेतलगायत नेताहरू जहाजमार्फत सिमरा आउँदै थिए। एमाले नेताको विरोध गर्न जेनजी युवाहरू सिमरा चोकमा भेला भएका थिए। तर, आफ्ना नेताको स्वागत गर्न एमाले सम्बद्ध युवाहरू विमानस्थल जाँदै थिए। त्यही बेला दुवै पक्षबीच विवाद चर्क्यो। द्विपक्षीय झडप भयो। सिमरा क्षेत्र दिनभर तनावग्रस्त भयो।
त्यसक्रममा एमालेका कार्यकर्ताको आक्रमणबाट जेनजी बाराका संयोजक सम्राट उपाध्याय घाइते भए। आक्रोशित जेनजी युवाहरूको समूहले सिमरा विमानस्थलमा पुगेर विमानस्थलको गेट पनि तोडफोड गरे। गेट तोडेर विमानस्थलभित्र पसेका जेन–जी युवाहरूले विमानस्थल कार्यालयमा ढुंगा र सिसाका बोतलहरू प्रहार गरे। सुरक्षाकर्मीले दुई राउन्ड अश्रुग्यास हानेर उनीहरूलाई तितरबितर पारेको थियो। विमानस्थलबाट फर्किएका जेनजी युवाहरूले सिमरा चोकमा टायर बालेर प्रदर्शन गर्न थाले। चर्को नाराबाजी गरे।


