पशुपति क्षेत्रमा शतबीज छर्ने श्रद्धालुको भीड (फोटोफिचर)
काठमाडौं । आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन । हिन्दु धर्मावलम्बीहरूले मङ्सिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन् ।
पितृउद्धारको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्नेको भीड लागेको छ । मंगलबार राति पितृका नाममा बत्ती बालेर बुधबार बिहान उनीहरूले छतबीज छरेका हुन् ।

आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ । शिवालयमा शतबीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ। आज बिहानै मृतकका आफन्तले शिवालयहरूमा शतबिज छर्ने गर्छन ।
हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।
शुपतिमा भक्तजनका लागि व्यवस्थित रुपमा बत्ती बाल्न र शतबीज छर्न व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका शतबीज छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने कुरा हेमाद्रिले लेखेको चतुर्वर्ग चिन्तामणिमा व्याख्या गरिएको छ ।



