एनपीएलको दोस्रो दिन आज दुई टिम भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा मंगलबार बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ ।
चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नुहुने छ । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनुहुने छ ।
यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौं गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौंले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो ।
नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ ।
प्रतियोगिताको विजेताले टोलीले १ करोड १० लाख रुपैयाँ पाउने छ । दोस्रो हुनेले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।


