दल दर्ताका लागि आयोगले दिएको समय आज सकिँदै
काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि दिएको समय आज साँझ बाट सकिँदैछ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले नयाँ दल दर्ता गर्न समय अविधि आज सम्म तोकेको थियो ।
यद्यपि, आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरिसकेको छ ।
निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको सङ्ख्या १२६ पुगिसकेको छ । जम्मा सङ्ख्याको टुङ्गो आज साँझ लाग्ने छ ।
यसैगरी, आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ ।
फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।
