एमालेले आज देशैभरि जनसभा गर्दै
काठमाडौं । नेकपा एमालेले आज देशैभर जनप्रदर्शन र सभा गर्दैछ । एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनस्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेको हो ।
एमालेले गत भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, असंवैधानिक ढंगबाट भएको संसद विघटन र भावी कार्यक्रमबारे प्रष्ट पार्न जनप्रदर्शन गर्न लागिएको जनाएको छ ।
एमालेले यसअघि गत मंगलबार देशभरका ७५३ वटै गाउँपालिकामा र कात्तिक २२ गते ६ हजार ७४३ वडामा भेला गरेको थियो ।
आजको जनसभामा महासचिव शङ्कर पोखरेलले नेपालगन्जमा सम्बोधन गर्नेछन् भने उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी, अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्नेछन्।
यसैगरी रुपन्देहीमा हुने कार्यक्रममा सचिव छविलाल विश्वकर्मा अर्का सचिव पद्मा अर्यालले झापाको बिर्तामोडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्नेछिन्।
कोशीका मुख्यमन्त्री एवं स्थायी कमिटी सदस्य हिकमत कार्कीले धनकुटामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
घोषित कार्यक्रमअनुसार एमालेले आगामी मंसिर ६ गते काठमाडौंमा वृहत जनप्रदर्शन र सभा गर्ने जनाएको छ ।
