प्रचण्ड-माधवसँग मिसिएका रावलले भने- त्यो बिछोडको घाउमा मलहमको महसुस भयो
काठमाडौं । भीम रावलको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा मिसिएको भएको छ। घोषणा सभाअघि नेकपाका संयोजक प्रचण्ड र अभियानका नेता भीम रावलले औपचारिक रुपमा सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
नेकपममा मिसिएका रावलले अब बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गरेर अघि बढ्ने बताए । समाहितपछि बोल्दै उनले नेकपा विभाजनको प्रसङ्ग पनि सम्झिए ।
रावलले भने, ‘जुन बेला नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिक्रियावादीहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नको लागि विभाजन गरेर गह्रौँ मन लिएर यही ठाउँबाट छुट्टिएर गएका थियौँ । आज फर्किएर नेपाली कम्युनिस्ट पार्टी अन्तरगत यहाँ छौँ । त्यो बिछोडको आलो घाउमा मलहम लागेको महसुस भइरहेको छ ।’
रावललाई नेकपामा छैटौँ वरीयता दिने सहमति बनेको छ। त्यसअघि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहनेछन् ।


