जेनजी आन्दोलनमा खटेका प्रहरीसँग आयोगले बयान लिँदै
काठमाडौं। जेनजी आन्दोलनमा भएको जनधनको क्षतिबारे अनुसन्धान र कारबाहीका लागि गठन गरिएको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले सुरक्षाकर्मीको बयानको तयारी थालेको छ ।
घटनाको दुई दिन फिल्डमा खटिने अधिकारीहरूको विवरण प्रहरीले आंशिक रूपमा पठाएपछि जिम्मेवार व्यक्ति निक्र्योल र बयानको आयोगले तयारी थालेको हो ।
तीन सातादेखि आयोगले प्रहरीसँग घटनाका दिन फिल्डमा खटिने प्रहरी अधिकारीहरूको विवरणका लागि ताकेता गरिरहेको थियो ।
जाँचबुझ आयोगका अनुसार माग भएकामध्ये उपत्यका तथा संसद्लगायतको सुरक्षार्थ खटिएका अधिकारीको विवरण आउने क्रम जारी छ । उपत्यकाभित्र र बाहिर सबै फिल्ड कमान्डरको विवरण आयोगले मागेको थियो ।
आयोगले भदौ २३ र २४ गते उपत्यका र उपत्यकाबाहिरका जिल्लामा रहेका फिल्ड कमान्डरको विवरण माग गरेको थियो । तीन साताअघि माग गरेको विवरण नआएपछि आयोगले बुधबार प्रहरी महानिरीक्षकलाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण पत्रसमेत पठाएको थियो ।
बिहीबार आयोगले उपत्यकाका विभिन्न कार्यालयमा फिल्डमा खटिने अधिकृतको विवरण पठाएको छ । यस्तै सङ्घीय संसद्लगायतका निकायमा सुरक्षा कमान्डरको विवरण पनि पठाएको छ । देशभरका सबै विवरण भने आयोगले पाइसकेको छैन ।
प्रहरीले यसअघि आन्दोलनका दुई दिनमा सम्पूर्ण जनशक्ति फिल्डमा रहेको जवाफ पठाएको थियो । फिल्ड कमान्डरको विवरण माग गर्दा जवानदेखि महानिरीक्षकसम्म फिल्डमा रहेको जवाफ पाएपछि आयोगले असन्तुष्टि जनाउँदै मागिएको विवरणका लागि पुनः पत्राचार गरेको थियो ।
