सरकारी सरहको पारिश्रमिक पाउने सहमति भएपछि नर्सहरु काममा फर्किए
काठमाडौं । उचित तलब सुविधाको माग गर्दै आन्दोलनरत निजी क्षेत्रबाट सञ्चालित अस्पतालका नर्सहरु सरकारसँगको सहमतिपछि काममा फर्किएका छन् ।
निजी मेडिकल कलेजहरु र ठूला निजी अस्पतालबाट कात्तिक महिनादेखि नै पूर्णरूपमा सरकारी पाँचौं तह सरह (मासिक ३४ हजार ७३० रुपैयाँ) तलब दिलाउने सहमति भएपछि उनीहरु काममा फर्किएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रकाश बुढाथोकीले नर्सहरु र निजी मेडिकल कलेज तथा अस्पतालहरुसँग २३ बुँदे सहमति भएको बताए । बुढाथोकीले बाँकी ठूला–साना अस्पतालहरुलाई वर्गीकरण गरेर ठूलालाई तत्कालै र मध्यमलाई केही हप्ता वा केही महिनाको समय दिएर सरकारी तहको सेवा सुविधा दिने सहमति भएको बताए।
उनले भने, ‘चार वटा खण्डमा २३ बुँदे सहमति भएको छ । त्यसमा निजी अस्पताल र मेडिकल कलेजहरुमा पनि कार्यरत नर्सहरुले पनि पाँचौं तह सरहको तबल पाउनुपर्छ भन्ने जुन उहाँहरुको माग थियो त्यसमा मेडिकल कलेजहरुमा कार्यरत नर्सहरुलाई कात्तिक महिनादेखि नै ३४ हजार ७ सय रुपैयाँ पारिश्रमिक दिने, बाँकी ठुला र साना अस्पतालहरुलाई वर्गीकरण गरेर ठूलालाई तत्कालै, मध्यमलाई केही हप्ता वा केही महिना र साना अस्पताललाई पनि केही महिनाको समय दिएर सरकारी तहको सेवा सुविधा दिने सहमति भएको छ । यदि कसैले खाईपाई आएको तलब योभन्दा बढी रहेछ भने नघटाउने सहमति पनि भएको छ । नर्सिङ एसोसिएसन, निजी मेडिकल कलेज र निजी अस्पतालहरुले उठाएका मागहरु समेत सम्बोधन हुनेगरी एउटा सुरक्षित वातावरण बनाउनको लागि तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलको एक महिना समय थपेर त्यसको आधारमा स्वास्थ्य मन्त्रालयले गर्ने काम स्वास्थ्य मन्त्रालयले गर्ने र बाँकी कुरा मन्त्रिपरिषद्बाट पास गराएर अगाडि बढ्ने कुरामा पनि सहमति भएको छ ।’
उनले नर्सहरुलाई समेत सरकारी पाँचौं तह सरहको तलब सुविधा दिन सरकारले दिएको निर्देशन कार्यान्वयन नभएपछि सरकारले सहमतिका लागि हस्तक्षेपकारी भूमिका खेल्नुपरेको बताए ।
उनले भने, ‘मन्त्रालयले १० महिना पहिले एउटा परिपत्र गरेको थियो । निजी मेडिकल कलेजमा कार्यरत स्वास्थ्य कर्मचारीले समेत सरकारी अस्पतालान सरह तलब पाउनुपर्छ भनेको थियो । उक्त परिपत्रको कार्यान्वयनको स्थिति थाहा नभइसकेको अवस्थामा मनिपाल र जिएमसीमा कार्यरत नर्सहरु आन्दोलनमा उत्रनुभयो । त्यसपछि त्यो परिपत्र कार्यान्वयन नभएको हाम्रो नोटिसमा आयो । सरकारले उक्त परिपत्र कार्यान्वयन गराउन तथा निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई समेत सम्मानजनक व्यवहार र तलब चाहिन्छ भन्ने सरकारको मान्यता भएको हुनाले अस्पताल र नर्सकर्मचारीबीच सहमति जुटाउन सरकार आफैंले हस्तक्षेप गर्नुपरेको हो ।’
स्वास्थ्य कर्मचारी, निजी मेडिकल कलेज र सरकारबीच भएको त्रिपक्षीय सहमति कार्यान्वयको अवस्थाबारे अध्ययन गर्न सात वटै प्रदेशमा अनुगमन तथा निरीक्षण टोली गठन गरिएको पनि उनले बताए ।
उनकाअनुसार नर्सिङ एसोसिएसनका प्रतिनिधि, आन्दोलनरत नर्सका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय र सम्बन्धीत प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रलयका प्रतिनिधिहरु अनुगमन समितिमा राखिएका छन् । अनुगमन समितिले त्रिपक्षीय सहमति कार्यान्वयन भए-नभएको अनुगमन गरे संघलाई पत्रचार गर्ने उनले बताए । उनले सहमति कार्यान्वयन नगर्ने निजी अस्पताल तथा मेडिकल कलेजहरुलाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताए ।


