तत्काललाई टर्यो फोहोरको अवरोध : गाडी सञ्चालन
काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयवासी फोहोर फाल्न दिने सहमत भएका छन् ।
बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन रोकिँदा पाँच दिनदेखि अस्तव्यस्त बनेको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अब सहज हुनेभएको छ। स्थानीयको अवरोध हटेसँगै सडकमै अलपत्र परेका फोहोर बोकेका गाडी ल्याण्डफिल साइटतर्फ गएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
मन्त्री घिसिङ आइतबार बिहान शहरी विकास सचिव गोपाल सिग्देल, काठमाडौं, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृतसहितको टोली लिएर बञ्चरेडाँडा पुगेका थिए ।

टोलीले स्थलगत निरीक्षणका क्रममा धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, प्रभावित वडाध्यक्ष र स्थानीयवासीसँग अन्तर्क्रिया गरेको थियो।
मन्त्री घिसिङले प्रभावित बासिन्दासँग विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै १५ दिनको समय माग गरे ।
मन्त्री घिसिङले स्थानीयलाई भने, “म आश्वासन दिन आएको होइन, कार्यान्वयन गर्न आएको हुँ। अवरोध हटाएर सकारात्मक सन्देश दिनुहोस्। वार्ता र संवादमार्फत सौहार्दपूर्ण समाधान खोजिन्छ। ”

उनले फोहोर व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजना अघि बढाइने उल्लेख गर्दै तत्काल गर्न सकिने कामहरू सुरु गर्न निर्देशन दिए।
रातको समयमा फोहोर व्यवस्थापन सहज बनाउन ल्याण्डफिल साइटमा बत्ती जडान सुरु गरिने मन्त्री घिसिङले बताए। उनका अनुसार सोमबारदेखि नै बत्ती राख्ने काम सुरु हुनेछ।
