प्रधानमन्त्रीको सचिवालयले भन्यो- बालेनको दबाबमा गृहमन्त्रीलाई हटाउने खबर भ्रमपूर्ण
काठमाडौं । प्रधानमन्त्रीको सुशीला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दबाब दिएको भन्ने समाचारहरू भ्रमपूर्ण भएको जनाएको छ।
सचिवालयले मन्त्री नियुक्ति गर्ने वा हटाउने विषय पूर्णरूपमा प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र पर्ने र कसैको दबाब वा प्रभावमा आधारित भएर यस्तो निर्णय हुन नसक्ने बताएको छ ।
सचिवालयबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ- ‘विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ । कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन । जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ। यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरिन्छ ।’



