घाइतेहरूलाई पेट्रोल बम र गोली हानिएको रहेछ, सारै दु:ख लाग्यो- मन्त्री गौतम (भिडियो)
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले जेनजी आन्दोलनका शहीद र घाईतेहरुको बलिदान खेर जान दिन नहुने बताएकी छिन् ।
सोमवार बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत जेनजी आन्दोलनका घाईतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएकि हुन् ।
उनले केएमसी अस्पतालले जेनजी आन्दोलनका क्रममा घाईते भएका ८३ जनाको उपचार गरेको र २ जना मात्रै अहिले उपचाररत रहेको बताइन् । उपचाररत घाईतेमध्ये एक जना महिला रहेको र उनिमाथि आन्दोलनका क्रममा पेट्रोल बम प्रहार भएको पाएको बताइन् ।
अर्को एक घाईते गोली लागेर उपचाररत रहेको उनले जानकारी दिइन् । दुवै घाईतेको अवस्था सुधारोन्मुख रहेको उनले बताइन् । शहीदको बलिदान खेर जान नदिनेतर्फ आफूहरु सचेत रहेको र जेनजीहरुको भ्रष्टाचार हुनु नहुने, सुशासन कायम हुनुपर्ने मागलाई बिर्सन नहुने उनको भनाइ छ ।
उनले भनिन्, ‘केएमसीबाट ८३ जना जेनजी घाईतेहरुलाई उपचार गरिसक्नुभएको रहेछ । अहिले मैले २ जना बिरामी हेरेँ । अरु सन्चो भएर जानुभयो । एक जना महिलामाथि आन्दोलनका क्रममा पेट्रोम बम प्रहार भएको रहेछ, त्यो हेर्दा साह्रै दुःख लाग्यो । जेनजी छोरा रहेछन् । अर्को एक व्यक्तिलाई गोली लागेको रहेछ । उनको अवस्था जटिल नै छ । उनको अवस्था पनि सुधारोन्मुख रहेछ । उपचारमा अस्पतालले धेरै राम्रो गरेको रहेछ । यत्रो शहीद र घाइतेको बलिदान खेर जानु हुँदैन । हामी सबै त्यसतर्फ सचेत छौँ । गुड गभर्नेन्सको मुद्दा हामीले बिर्सिनु हुँदैन ।’
उनले शहीदको बलिदानको अवमूल्यन गर्न नहुने बताइन् ।


