रुकुम जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, १० घाइते
रुकुमपश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।
शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका-२ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको जिल्ला अस्पताल सल्लेमा पुर्याएको बेला मृत्यु भएको हो।
प्रहरी अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका ३ निवासी ३० वर्षीया कमला ओली, आठबिसकोट नगरपालिका १ का १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीया दिलमाया बुढा, १५ वर्षीया कल्पना नेपाल, २८ वर्षीया सर्मिला बिक, आठबिसकोट नगरपालिका २ का १७ वर्षीया मनिका ओली, १८ वर्षीया सर्मिला विक र २२ वर्षीया गोपाल ओली रहेका छन् ।
दुर्घटनामा परेर चालकसहित १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा मुसीकोट नगरपालिका २ निवासी ३४ वर्षीय जिप चालक टोपजंग बुढा, आठबिसकोट नगरपालिका १ का निवासी १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा, १९ वर्षीया शान्ति बुढा, १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा र १५ वर्षीया सबिता विक रहेका छन् ।
घाइते मध्य जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज लिइएको छ भने अन्यको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
शुक्रबार बेलुका जिल्ला सदरमुकाम मुसीकोट खलंगाबाट आठबिसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटना भएको थियो ।
जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीको भनाइ छ । क्षमताभन्दा बढि यात्रु रहेकाले जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
तस्बिर : राजु लामिछाने/गोरखापत्र।


