निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको संवाद शुरु

No ads found for this position
No ads found for this position

काठमाडौं । निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको संवाद शुरु भएको छ ।

बिहीवार बिहान निर्वाचन आयोगमा विभिन्न राजनीतिक दलहरुसँगको छलफल शुरु भएको हो ।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचन प्रयोजनका लागि राजनीतिक दलहरुसँग छलफल शुरु गरेको छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभाको नर्वाचन गराउने मिति तोकेको छ ।

राजनीतिक दलहरुसँग निर्वाचनबारे कुनै छलफल नै नगरिएको भन्दै सरकारको आलोचना समेत हुँदै आएको छ ।

नेकपा एमालेसहितका नेपाली कांग्रेस लगायत राजनीतिक दलहरुले संसद पुनःस्थापना हुनुपर्ने माग गरेका छन् ।

नेकपा एमालेले संसद पुनःस्थापनाका लागि अदालत जाने निर्णय समेत गरिसकेको छ भने नेपाली कांग्रेसले पार्टीको केन्द्रिय समितिको बैठकबाट आफ्नो धारणा स्पष्ट पार्नेछ ।

नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका राजनीतिक दलहरुले भने निर्वाचनको तयारी थाल्ने बताइसकेका छन् ।

निर्वाचन आयोगले बोलाएको बैठकमा नेकपा (माओवादी केन्द्र) का देव गुरुङ, लिलामणि पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कविन्द्र बुर्लाकोटी, जनता समाजवादी पार्टी लगायतका राजनीतिक दलका प्रतिनिधिहरु रहेका छन् ।

निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधार र निर्वाचन आयुक्त सगुन शमशेर जबरा सहभागी छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *