देश बर्बादीतर्फ धकेलिएको छ, एमाले सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुने चेतावनी दिएका छन्।
बुधवारबाट ललितपुरको जावलखेलमा शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले एमालेले मुलुकको राजनीतिक, आर्थिक क्षेत्रको नायकत्व गरिरहेको पार्टी भएको दाबी गरे । उनले मुलुकमा अगुवाई गर्न सक्षम पार्टीको रुपमा एमाले रहेको व्यवहारले नै पुष्टि गरेको जिकिर गरे।
अध्यक्ष ओलीले भने,‘कसैले अब सधैँका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला । यो भ्रम नपाले हुन्छ । एमाले राजनीतिक आर्थिक नायकत्व दिइरहेको पार्टी हो । व्यवहारले यसको पुष्टि गरेको थियो, देखाएको थियो । विश्व बैंकको हालै प्रकाशित तथ्यांकले पनि एमाले सरकारमा नहुँदा मुलुक कसरी कम्जोर हुन्छ छन्ने पुष्टि भयो ।’
ओलीले मुलुकलाई बर्बादीतर्फ धकेल्ने प्रवृत्तिविरुद्ध शतर्क रहँदै लोकतान्त्रिक तथा सुशासनयुक्त बाटोमा फर्काउनुपर्ने बताए ।
उनले जेनजी आन्दोलनपछि सबैभन्दा बढी प्रहार नेकपा (एमाले)माथि भइरहेको बताए । राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा अडिग रहेकै कारण पार्टी नेतृत्व र पार्टीमाथि प्रतिगमनकारी शक्तिहरु लागिपरेको उनको जिकिर छ ।
उनले भने, ‘अहिले देश बर्बादीतर्फ धकेलिएको छ । यस अवस्थालाई हामीले तत्काल लोकतान्त्रिक, जनपक्षी, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र शान्तीपूर्ण बाटोमा फर्काउनुपर्नेछ । अरुभन्दा हामी धेरै निशानामा परेका छौं । हाम्रा नीति राम्रा भएरै हामीमाथि धेरै प्रहार भइरहेको छ । नेकपा (एमाले) नेपालको कम्युनिष्ट आन्दोलनको निरन्तरताको वैचारिक र व्यवहारिकताको अगुवाई गरेका छौं । नेपालको सुशासन, सुव्यवस्था र स्थिरताको आन्दोलन र जबज प्रतिपादन हुनुभन्दा अगाडि र पछि हामी अघि बरिहेको अवस्थामा हामीले प्रभावकारी भूमिका खेलेका छौं । यी धेरै कुराहरु मन नपराउने शक्तिहरु छन् । राष्ट्रले शीर उठाएको मन नपाएका शक्तिहरु छन् । अरुले राष्ट्रहितमा बोल्नुनपर्ने एमालेमात्रै किन बोल्नुपर्ने शक्तिहरु पनि छन् । राष्ट्रिय हित र न्यायको पक्षमा छौं । यसर्थ हाम्रो राष्ट्रिय दृष्टिकोण राष्ट्रको हितमा र राष्ट्रिय सार्वभौकताको अडान लिएका छौं ।’
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँदै आत्मनिर्भरताको बाटोतर्फ डोर्याएको दाबी गरे ।