सभापतिज्यूले छोड्छु भनिसक्नुभयो, जेनजीसँग संवाद गरेर संविधान परिवर्तन गर्नुपर्छ : चन्द्र भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीले मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको भन्दै पार्टीले मुलुक, लोकतन्त्र र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।
मंगवार पार्टी केन्द्रीय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाली कांग्रेसले मुलुक, लोकतन्त्र र नागरिक अधिकारलाई प्राथमकिता दिँदै आएको पनि बताए । उनले मुलुकको वर्तमान राजनीतिक संकट र संवैधानिक विचलनको अवस्थाबाट कसरी अघि बढ्ने भन्नेबारे केन्द्रीय कमिटीको बैठकले ठोस निर्णय गर्ने पनि बताए ।
उनले भने, ‘नेपाली कांग्रेसको इतिहासले के भन्छ भने पहिले हामीले मुलुकको बारेमा सोच्नुपर्छ । त्यसपछि हामीले ल्याएको डेमोक्रेसीको बारेमा सोच्नुपर्यो, यो देशका जनताका बारेमा सोच्नुपर्यो । त्यसपछि यी तीनवटै कुरालाई व्यवस्थापन गरेर पार्टीलाई अगाडि बढाउने बारेमा सोच्नुपर्यो । पार्टीलाई कस्तो बनाउँदा अहिलेको विषम परिस्थितिलाई हाँक्न सकिन्छ भन्नको लागि अहिले हामी केन्द्रीय समितिको बैठक शुरु गर्छौं । बैठकले निरन्तर महाधिवेशन वा विशेष महाधिवेशनको बारेमा टुंगो लाउँछौं । अहिले नागरिक अधिकार अस्तव्यस्त भएको छ । संविधानको विचल्ली छ । त्यसका लागि संविधानको रक्षा गर्दै नागरिक अधिकार संस्थागत गर्नुपर्छ । नेपाली कांग्रेस अरु पार्टी जस्तो होइन नि स्वयं सभापतिज्यूले नै अब मैले छोड्छु भनिसक्नुभएको छ नि । स्वाभावैले समयअनुसार नेतृत्व परिवर्तन भइहाल्छ नि ।’
नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरु र जेनजी पुस्ताहरुसँग समेत सल्लाह गरेर संविधानमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
उनले समानुपातिक सांसदहरुलाई कहाँ राख्ने र एउटै राजनीतिक दलको बहुमत कसरी आउनसक्छ भन्ने कुरालाई निकास दिनको लागि संसदबाट पास गर्नेगरी संविधान ब्युँताउन जरुरी रहेको बताए।