इजरायल-हमासबीच ‘शान्ति सम्झौता’, बन्धक रिहा हुने आशा

यी हुन् 'शान्ति सम्झौता'का मुख्य बुँदा

No ads found for this position
No ads found for this position

कायरो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायल र हमास दुवैले गाजाक्षेत्रमा जारी युद्ध रोकेर शान्ति स्थापनाका लागि सहमति गरेको जनाएका छन् ।

सहमतिअनुसार बन्दीको मुद्दामा आफ्नो शान्ति योजनाको पहिलो चरणलाई दुवै पक्षले स्वीकार गर्ने ट्रम्पले ट्रुथ सोसियलमा घोषणा गरेका छन् । उनले यसलाई ऐतिहासिक र अभूतपूर्व कदमका रूपमा व्याख्या गरेका छन् ।

सम्झौताका मुख्य बुँदा

दुवै पक्षले सबै जीवित बन्दी चाँडै नै रिहा गर्ने।

इजरायली सेनाले आफ्ना सैनिक सहमत सीमामा फिर्ता बोलाउने।

युद्धविराम लागू हुने ।

हमासबाट हुने बन्दीको रिहाइको बदलामा इजरायलले २५० जना आजीवन कैद सजाय भोगिरहेका र १,७०० गाजावासी कैदीलाई रिहा गर्ने ।

प्रतिक्रिया

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस सम्झौतालाई इजरायलका लागि ठूलो दिन भनेका छन् । उनले भने, ‘हामी सबै बन्दीलाई घर ल्याउँदैछौं। यो एक कूटनीतिक सफलता र इजरायल राज्यको लागि राष्ट्रिय तथा नैतिक जित हो।’

यसैबीच नेतन्याहू र ट्रम्पबीच ‘भावनात्मक’ फोन कल भएको छ । सम्झौताको घोषणापछि दुवै नेताहरूबीच ‘धेरै भावनात्मक र नजिकको कुराकानी’ भएको अलजजिराले लेखेको छ । फोन संवादका क्रममा नेतन्याहूले ट्रम्पलाई इजरायली संसद (क्नेसेट) मा सम्बोधन गर्न आमन्त्रित गरेका छन् ।

उता हमासले सम्झौताको पुष्टि गर्दै यसको कार्यान्वयनमा जोड दिएको छ। उनले अन्तर्राष्ट्रिय समुदायलाई इजरायललाई सम्झौताका सर्तहरू पूरा गर्न बाध्य गर्न आह्वान गरेको छ ।

बन्दी परिवारले के भने ?

इजरायलमा बन्दीहरूका परिवारहरूले यो खबरलाई उत्साह, प्रत्याशा, र चिन्ताको रूपमा स्वागत गरेका छन् ।

बन्दीहरूको लागि पहल गर्दै आएको ‘द होस्टेजेस एण्ड मिसिङ्ग फैमिलिज फोरम’ ले ट्रम्पलाई ‘प्रतिबद्धता र दृढताको’ लागि धन्यवाद दिएको छ ।

यसरी भयो पहल

यो सम्झौता केही हप्तादेखि चलेको जटिल कूटनीतिक प्रयासको नतिजा हो। यही सेप्टेम्बरमा ट्रम्पले आफ्नो २०-बुँदे शान्ति योजना सार्वजनिक गरेका थिए ।

यसैबीच, नेतन्याहू र ट्रम्पबीच मतभेदबारेमा पनि खबरहरू आएका थिए । जसमा ट्रम्प नेतन्याहूको सैन्य रणनीतिबाट निराश थिए । तर अन्ततः दुवै पक्षले सम्झौतामा सहमति जनाउन सफल भएका छन्। -बीबीसी



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *