लिची बगान जग्गा प्रकरण: २ पूर्वमन्त्री सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एमाले नेता गुप्ता र नाउपा अध्यक्ष श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
लिचीबारी जग्गा प्रकरण चर्चामा आउनुको कारण तत्कालीन मन्त्री राजकुमार गुप्तासँग बिचौलिया सुजन लामाबीच भएको घूससम्बन्धी अडियो सार्वजनिक हुनु हो । उक्त अडियो सार्वजनिक भएसँगै गुप्ताले पदबाट राजीनामा दिएका थिए ।
पोखरा–१६ मा रहेको करिब १ सय ३४ रोपनी लिचीबारी जग्गा भागबण्डाका लागि वडा कार्यालयले नै करारनामा गरिएको थियो। २०८० साल माघ २८ गते वडा कार्यालयमा गरिएको करारनामामा उक्त जग्गा तीन पक्षबीच प्रतिशतको आधारमा बाँडफाँड गर्ने सहमति गरिएको थियो ।