प्रहरीले छाडे चौकी, काठमाडौंका मुख्य चोकमा बढाइयो सुरक्षा तैनाथी

काठमाडौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ले मंगलबार बिहानै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै दबाब दिन थालेपछि काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।
जेनजी पुस्ताका युवाहरुले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन् ।
जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्नेहरुलाई पक्राउ गर्न र संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति खारेज गर्न माग गर्दै युवाहरु सडकमा आउन थालेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो ।
काठमाडौंका मुख्य चोकमा प्रहरीको तैनाथी बढाइएको छ । प्रहरीको एक टोली माइतीघर–भद्रकाली खण्डमा पर्ने जिल्ला प्रहरी परिसर अगाडि ब्यारिकेड नै राखेर बसेको छ ।
मध्यरातिदेखि प्रहरीले छाडे चौकी
काठमाडौंमा जेन-जी आन्दोलनको मुभमेन्ट बढ्न थालेपछि प्रहरीहरुले चौकी छाड्न थालेका छन् । उनिहरुले हिजो मध्यरातिदेखि चौकी छाडेका हुन्।
जेन-जी आन्दोलन पछि प्रहरीहरु समुदायकै पहलमा पूर्ववर्त अवस्थामा फर्किए पनि सोमबार रातिदेखि सबै प्रहरी चौकी र बिटबाट उनिहरु सहरी क्षेत्रमा केन्द्रित भएका छन्।
प्रहरीका अनुसार कम्तिमा इन्सपेक्टर भन्दा तलको नेतृत्वमा रहेका प्रहरी कार्यालयहरु मध्यरातिदेखि खाली गरिएको छ। जेन-जीका नाममा फेरि आन्दोलन सुरु हुने विश्लेषण गर्दै उनीहरुलाई धेरै संख्यामा हुने गरी एक ठाउँमा केन्द्रित गरिएको हो।