वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरियो

काठमाडौं । बंगालको खाडीबाट विकसित भएको वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले आइतबार सूचना जारी गरेर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको जनाएको हो। तर मनसुन नेपालबाट पुरै बाहिरिनसकेकाले अझै पनि वर्षा हुने सम्भावना रहने छ।
न्यून चापीय प्रणालीको कारणले २०८२ असोज १७ गते साँझबाट १९ गते बिहानसम्म मनसुन सक्रिय भई मधेस र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा भारीदेखि अति भारी वर्षा तथा कोसी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा मध्यमदेखि अति भारी वर्षा मापन भएको छ।
अविरल वर्षाका कारण बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको अवस्था रहेको विभागले जनाएको छ।