मौसम खुलेसँगै काठमाडौं आउजाउ गर्न सडक एकतर्फी खुल्ला

काठमाडौं । मौसममा क्रमिक सुधार हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय गरेको छ ।
प्रशासनले सूचना जारी गर्दै विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फीरुपमा सवारी सञ्चालनको तयारी भइरहेकाले धादिङ, चितवन, मकवानपुर र नुवाकोट प्रशासनको सूचनाका आधारमा ती जिल्लामा आवागमन एकतर्फी रूपमा खुला गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाले मौसममा क्रमिक सुधार हुँदै गएपछि सडकमा यात्रुको चापलाई मध्यनजर गर्दै उक्त सडकमा आवागमन एकतर्फी रुपमा खुला गर्ने निर्णय गरेको जानकारी दिइन्।
सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक इसारा, संकेत र सूचनालाई गम्भिरतापूर्वक लिई सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौंबाट बाहिरिने सवारी साधानलाई पूर्णरुपमा बन्द गरिएको थियो ।