मलाई फलो गर्ने र आक्रमण गर्ने प्रयास नगर्नुहोला, गाह्रो पर्ला : सुदन गुरुङ

काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफूलाई आक्रमण धाइरहेको बताएका छन्।
मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकबाट सन्देश जारी गर्दै उनले आफूलाई आक्रमण गर्न कुनै एउटा समूहले सिंहदरबारदेखि घरसम्मै फलो गरिरहेको बताएका हुन्।
गुरुङले आफूलाई धम्क्याउने प्रयास नगर्न सुझाव दिँदै प्रतिकारमा उत्रिनुपरेको दिन नराम्रो हुने चेतावनी पनि दिएका छन्।
उनले भिडियो सन्देशमा भनेका छन्-
अहिले मेरो फ्यान फलोइङ एकदम बेसी भएजस्तो लाग्छ मलाई। मेरो एकदम राम्रो फ्यान फलोइङ छ जस्तो लाग्छ क्या। हुँदाहुँदा अहिले मेरो घरसम्म पनि के भन्छ, पूरा आइराछ, मलाई खोजीखोजी आइराछ मलाई। कस्तो हाँसो उठिसक्यो मलाई। कति साह्रो मेहनत गरेको। कति साह्रो माया गरेको, फलो गरेको गर्यै गर्ने? त्यति साह्रो फलो त के भन्ने? यति साह्रो फ्यान फलोइङ मलाई चाहिएको छैन।
फेरि जुन दिन भेट्छु नि मैले– मेरो हात मात्र पर्यो भनेचाहिँ म त आफ्नो प्रोटेक्सन आफैँ गर्नुपर्यो । हैन आफ्नो प्रोटेक्सन त आफैँ गर्नुपर्यो। मैले जुन दिन भेटेँ भने गाह्रो पर्छ है। मेरो वार्निङ हो, तपाईंहरू सबै जनालाई, धेरै फ्यान हुनु पर्दैन के यसरी। बरु कहाँ आउनुपर्छ, भन्नु म आउँला। यसो फलो गरेर पूरा मलाई डराउने धम्क्याउने गर्यो सोच्या होला।
मैले सुरु दिनदेखि नै जब यो मेरा भाइबैनलाई गोली हानियो, मैले त्यहाँदेखि नै सोचिसकेको थिएँ– म कसैसँग डराउनेवाला छैन। यो कुराचाहिँ प्लिज विचार गरिदिनु तपाईंहरू। यति साह्रो इफोर्ट लाउनुको साटो, देशलाई कसरी राम्रो बनाउन सकिन्छ, त्यतातिर इफोर्ट लाउनुहोला। मेरो यो वार्निङ हो, तपाईंहरूलाई। मैले भेट्टाए भनेचाहिँ गाह्रो हुन्छ। अस्ति सिंहदरबार बाहिर पनि मलाई फलो गरेको भेट्टाएँ। अब सोच्नुहोला कि मैले प्रोटेक्सन गर्या छैन भन्ने सोच्नुहोला। गुरुङ सोझो छ भनेर सोच्नुभएको होला।
म सोझो छैन है फेरि। म राम्रोमा राम्रो छु, नराम्रोमा म धेरै नराम्रो छु। त्यही भएर तपाईंहरूलाई मेरो सजेसन– मेरो बाटोभन्दा टाढा बस्नू। मेरो बाटो अवरोध गर्न नखोज्नूस्। म प्रयास गरिरहेको छु– तपाईंहरूको सबैको भविष्य राम्रो होस्। मन्त्रिपरिषद् विस्तारमा धेरै राम्रो मन्त्रीहरू जानुभाछ। कति राम्रा निर्णयहरू भएका छन्। सबै क्षेत्रमा हामीले परिवर्तन गर्नुपर्नेथ्यो।
मेरो जति पनि फ्यान फलोइङ छ नि, सिंहदरबारदेखि घरसम्म मलाई फलो गर्ने। कहिले कता फलो गर्ने। बरु आउनूस्, म तपाईंलाई राम्रो फोटो खिचेर सिग्नेचर पनि गरिदिन्छु। अरुलाई धम्काएजस्तो सोच्नुहोला। मलाई धम्क्याउन गाह्रो छ। तपाईंहरूकै सुरक्षाका लागि भनिरहेको छु– मलाई फलो गर्ने काम नगर्नुहोला। जति जना तपाईंले ट्राई गरिरहनुभएको छ। मेरो देश र मेरो बीचमा आउन खोज्नुभयो भने तपाईंहरूलाई गाह्रो पर्छ।