चाडपर्व मनाउन ५ दिनमा करिब २ लाख यात्रु उपत्यकाबाट बाहिरिए

काठमाडौं । चाडपर्व मनाउनका लागि पछिल्लो ५ दिनमा १ लाख ८९ हजार २१८ यात्रुले काठमाडौं उपत्यका छाडेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ देखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा १ लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन्।
कार्यालयका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू दसैं मनाउन आफ्नो गन्तव्य स्थलमा गएका हुन्।
कार्यालयका अनुसार असोज १ गते ३४ हजार ५५६, असोज २ गते ३६ हजार १००, असोज ३ गते ४० हजार ५५५, असोज ४ गते ३४ हजार ८७९ र असोज ५ गते ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।
यस वर्ष सडकको दूरावस्थाका कारण यात्रुहरूलाई आवतजावतमा समस्या परेको छ। काठमाडौंको गोङ्गबुस्थित नयाँबसपार्कमा दसैंमा घर जाने यात्रुको चाप बढेको छ।