जमरा राख्न बागमतीमा बालुवा खोज्नेको भीड (तस्बिरहरु)

घटस्थापनाको साइत ९:१३ बजे

No ads found for this position
No ads found for this position

काठमाडौं । पशुपतिनाथ मन्दिर वरपर बागमतीको पवित्र जलद्वारा सिञ्चित बालुवामा जमरा राख्न आज बिहानै देखि बागमती नदीमा भीड लागेको छ। जमरा राख्न लागि बागमतीमा बालुवा खोज्नेहरूको भीड निकै रोचक देखिन्थ्यो ।

घटस्थापनाको दिन आज बिहानै बागमती किनारमा बाल्टी, बोरा र साबेल लिएर बालुवा खोजिरहेका मानिसहरूको भीड देखियो । बालुवामा जमरा राख्दा राम्रोसँग उम्रने गर्दछ । बागमती नदीको जल पवित्र मानिने हुनाले यहाँको बालुवामा जमरा राख्दा शुभ हुने विश्वास रहेको छ । आजदेखि औपचारिकरुपमा दसैं सुरु भएको छ । घटस्थापनाका दिन धान, मकै, जौ, गहुँ आदिको जमरा राख्ने गरिन्छ र टीकाको दिन अक्षता र जमरा लगाएर दसैं मनाउने गरिन्छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैं आज (सोमबार)देखि प्रारम्भ भएको छ ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ ।

घटस्थापनाको साइत ९:१३ बजे

आजैका दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।

आज घटस्थापनाको साइत बिहान ९:१३ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए।

दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।

 

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *