हजुरबुवा पुस्ताका नेताहरूलाई ओपन लेटर:  अब कति रगत खाने ?

स्कुल ड्रेसका विद्यार्थीलाई छातीमा गोली, यो Mass Murder हो । तपाईंहरू कसरी निदाउनुहुन्छ ?

No ads found for this position
No ads found for this position

जेनजी को तर्फबाट एउटा चिठी

प्रिय राजनीतिक नेताज्यूहरू,

हामीलाई त तपाईं हजुरबुवाजस्तै लाग्छ।

तपाईंहरूले कहिले पञ्चायत तोड्न नारा लगाउनुभयो, २०६२/६३ मा अभिव्यक्तिको मूल्य सिकाउनुभयो।

तपाईंहरूको मुखबाट हामीले सुनेका शब्द अझै सम्झन्छौं-

  •  ‘स्वतन्त्रता बिना जीवन अधुरो हुन्छ।’  
  • ‘अभिव्यक्ति बिना लोकतन्त्र मृत हुन्छ।’

तर आज ?

त्यही तपाईंहरूकै आदेशमा हाम्रो टाउकोमा गोली चलाइयो।

स्कुल-कलेज ड्रेसमै सहिद बनाइयो ।

सेप्टेम्बर ८, २०२५।

सडकमा स्कुल ड्रेस, कलेज ड्रेसमा युवा निस्केका थिए।

कसैको कापी-पेन हातमै थियो, कसैको ब्याग अझै काँधमै।

तर आवाज उठाउनेहरूलाई टाउकोमै गोली।

देशलाई माया गर्ने मुटुमा गोली।

यो दुर्घटना होइन । यो Mass Murder हो।

तपाईंहरू कसरी निदाउनुहुन्छ?

  •  हजुरबुवा, तपाईंहरूलाई साँच्चै निद्रा आउँछ ?  
  • आँखा बन्द गर्दा ती लतपतिएका ड्रेस, त्यो च्यातेको कापी, त्यो बाटोमा पोखिएको रगत-देखिन्न ?
  • त्यो विद्यार्थीहरूको चिच्याहट, त्यो अन्तिम सास-तपाईंहरूको कानमा बज्दैन ?

हामीलाई त निद्रा आएन ।

ती साथीहरूको अनुहार, ती लास, ती आवाजहरूले, हामीलाई सधैं सताइरहन्छ।

दोष तपाईंहरूकै हो ।

  • यदि तपाईंहरू जबाफदेही हुन्थ्यो भने, हामी सडकमा निस्कनै पर्दैनथ्यो।
  •  यदि तपाईंहरू साँचै देशलाई माया गर्ने हुन्थ्यो भने, हामीले यो कालो दिन देख्नुपर्ने थिएन।
  • यदि तपाईंहरू कुर्सी मोहभन्दा ठुलो केही बुझ्थ्यो भने, हाम्रो पुस्ता रगतमा डुब्नुपर्ने थिएन।

मेरा साथीहरू-सबै विदेशतिर धकेलिएका छन्।

देशमै भविष्य छैन भनेर बाध्य बनाउने तपाईंहरू नै हो। अब त बाकी भएका केही साथीहरूको पनि मन भाचिएको छ। उनीहरू भन्छन्- यस्तो देशमा बसेर के गर्नु ? जहाँ बोल्न समेत पाइँदैन । स्कुल ड्रेस, कलेज ड्रेसमा केही हिंसा हुँदैन भनी विश्वास गरेका साना भाइबहिनीहरूलाई गोली तकिन्छ, घाइते बनाउन होइन मार्न।

अब के गर्ने ?

हजुरबुवा, हामी अझै तपाईंहरूले सिकाएको बाटोमै छौं।

  • बोल्ने ।
  • प्रतिरोध गर्ने ।
  • प्रश्न सोध्ने ।

फरक यति छ-

तपाईंहरू कुर्सी र शक्तिको नशामा त्यो बाटो बिर्सिनुभयो तर हामीले त्यो बाटो बिर्सेका छैनौं।

अब गाउँगाउँ, बस्तीबस्तीबाट उठ्ने बेला आएको छ।

क्रान्ति सुरु हुन्छ । कलमबाट, आवाजबाट, अनि सडकबाट ।

अन्तिम प्रश्न-

हजुरबुवा,

  • अब पनि तपाईंहरू कुर्सी नै ठुलो देख्नऊ हुन्छ ?
  • अब पनि तपाईंहरूलाई आफ्नै सन्तानजस्तै युवाको रगत च्यातिएका अनुहारहरूले झस्काउँदैन?
  • अब पनि तपाईंहरू निदाउन सक्नुहुन्छ? सक्नु हुन्छ भने कसरी निधाउन सकिन्छ ? हामीलाई पनि बताइदिनु होला । हिजोबैट निदाउन सकेका छैनौं ।
  • अब त पुग्यो !

सुन् राजनीतिक नेताज्यू-

गोलीले शरीर मार्छ, तर पुस्ताको आवाज कहिल्यै मर्दैन।

यदि अझै सुनेनौं भने, इतिहासले तिमीहरुलाई केवल जनताको हत्यारा भनेर सम्झनेछ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *