पछि हट्यो सरकार, १९ जनाको ज्यान गएपछि खुले सामाजिक सञ्जाल

No ads found for this position
No ads found for this position

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।

मन्त्री गुरुङले जेनजी पुस्ताले सामाजिक सञ्जाल सुचारु गर्नेलगायतका माग राखेकाले तत्काल खुला गरिसकिएको जानकारी दिए।

उनले जेनजी पुस्तालाई देश र जनताप्रति जिम्मेवार भई आफ्ना विरोधका कार्यक्रम फिर्ता लिन आह्वान गरे।

मन्त्रालयको जिम्मेवारी समालेको १४ महिनादेखि सामाजिक सञ्जाल नियमन गर्न आफू लागि परेको बताउँदै मन्त्री गुरुङले नेपालमा सामाजिक सञ्जालको नियमन गर्न जरुरी रहेको औँल्याए। “हामीले सामाजिक सञ्जाल नियमन गर्न आह्वान गरेका हौँ। धेरै पटक सूचीकृत हुन आग्रह गरेका थियौँ। हामीले धेरै पटक भर्चुअल मिटिङ ग¥यौँ,” उनले भने, “तर उनीहरू (सामाजिक सञ्जाल सञ्चालक) ले तेरो देशमा ‘करप्सन’ छ। तेरो देशको रेगुलेसनको ट्रान्सपरेन्ट छैन्। यसो हुँदा तिमीहरूको देशमा सामाजिक सञ्जाल स्टाबिलिस गर्ने, दर्ता गर्ने कार्य हुँदैन भनेर अटेर गरे। योबिचमा सर्वोच्च अदालतले सामाजिक सञ्जाल दर्ता गरेर नियमन गर्न फैसला गरेपछि निष्क्रिय बनाएर निर्णय कार्यान्वयन मात्रै गरेका थियौँ ।”

प्रतिबन्ध लगाइएका मध्येका एक सामाजिक सञ्जाल एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नहुनेगरी जवाफ फर्काएको प्रधानमन्त्रीले मन्त्रिपरिषदमा ब्रिफिङ गरेका थिए । एक मन्त्रीका अनुसार एक्सले नेपालमा दर्ता नै नगर्ने बताएको छ ।

जेनजीहरूको प्रदर्शनका कारण सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए । चर्को विरोध र सत्तारुढ दलबाटै दबाब थेग्न नसकेपछि अन्तत: सरकार निर्णयबाट पछि हटेको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *