रौतहटमा बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाइयो

रौतहट । रौतहटमा बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।
गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियामा बसोबास गर्ने रामएकवाल साह बानियाकी ५५ बर्सिया श्रीमती सुशीला देवीलाई छिमेकीहरूले निर्घात कुटपिट गर्दै कपाल मुंडन गरी मानव मलमूत्र खुवाएको घटना सार्वजनिक भएको छ ।
स्थानीय ४० वर्षीय दिनेश साह कानु, उनका छोरा २२ वर्षीय गोलु साह कानु र ३५ वर्षीय विक्रम साह कानु लगायत मिलेर आइतबार सुशीला देवीमाथि बोक्सीको आरोप लगाउँदै सामूहिक कुटपिट गरेका हुन् । घटनाको सुरुवात बिहान भएको हो, जब दिनेश साह कानुकी श्रीमती ३७ बर्सिया सङ्गीता देवी अकस्मात् बिरामी परिन् ।
उनलाई उपचारका लागि गरुडास्थित रोमा अस्पताल पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज लैजाने क्रममा दिउँसो २ बजे बाटोमै मृत्यु भयो ।
सङ्गीता देवीको मृत्युका लागि छिमेकी सुशीला देवीले टुनामुना गरेको आरोप लगाउँदै मृतकको परिवारजनले आक्रोश पोख्दै सुशीला देवीलाई कुटपिट मात्र होइन, कपाल काटेर मलमूत्र समेत खुवाएका हुन् ।
घटना बारे जानकारी पाउन साथ दिउँसो करिब ३ बजे प्रहरी टोली घटनास्थल पुगेको थियो ।
इलाका प्रहरी कार्यालय गरुडाका सई ज्ञानेन्द्र ढकालको कमान्डमा पुगेको टोलीले पीडित महिलालाई उद्धार गरेको हो तर, कुटपिटमा संलग्न तीनै जना भने घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ ।
पीडित परिवारले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटनाको पुष्टि गर्दै बोक्सीको आरोपमा कुटपिट गर्ने ७ जना माथि पीडितको तर्फबाट जाहेरी परेको बताए। जुन आज दर्ता हुन्छ र कानुन अनुसार कडा कारवाहीको दायरामा ल्याइने उनले बताए।
घटना लगतै पीडकहरू घर छोडेर फरार भएकाले उनीहरूको खोजी तथा घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिए।