मुग्लिन-मलेखु सडक: दसैंअघि कालोपत्रे नहुने, खाल्डाखुल्डी पुरिँदै

फाइल तस्बिर ।
चितवन । नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडक स्तरोन्नतिसँगै चाडपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ ।
दसैंमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले कालोपत्रेबाहेक खाल्डाखुल्डी पुर्ने र सम्याउने काम थालिएको हो ।
पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार दसैंअघि कालोपत्रबाहेक सडकका सानाठूला खाल्डा पुर्नेगरी काम थालिएको हो । उनले भने, ‘दसैं, तिहारमा आवतजावत गर्ने यात्रीको सङ्ख्या बढी हुने भएकाले उहाँहरूको सहजताका साथै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मर्मतमा केन्द्रित भएका छौँ ।’
ठूला खाल्डा भएका ठाउँमा बाहिरबाट गिट्टी लगेर भर्न थालिएको छ भने सडक सम्याउने काम पनि भइरहेको नेपालले जानकारी दिए । उनका अनुसार सो खण्डको ३८ किलोमिटरमध्ये आठ किमी कालोपत्र गरिसकिएको छ । ‘अरु केही भागमा कालोपत्र गर्ने तयारी गरिएको छ । त्यसबाहेकका खाल्डो परेका ठाउँहरूमा मर्मतसम्भारको काम थालिएको हो’, उनले भने ।
वर्षाको समयमा कालोपत्र गर्न नमिल्ने भएकाले सडकको छेउमा ‘स्टिल’ राख्ने तथा ‘आरसिसि सेफ्टीवेरियर’को काम भइरहेको जनाउँदै उनले योसँगै नाली निर्माण गरिएको बताए । सो खण्डमा पर्ने छमध्ये चार वटा पुलको काम अन्तिम चरणमा पुर्याइएको उनले जानकारि दिए । उनका अनुसार मौवा खोला, खटौती र गौमती पुलको ढलान सकेर पहुँच सडकको काम भइरहेको छ ।
वारबाङ् पुल एक साताभित्र ढलान गरिँदै छ । यी चार वटै पुल दुई महिनाभित्र सम्पन्न भई सवारीसाधन सञ्चालन गरिने नेपालले बताए । “बाँकी रहेका चरौँदी पुलमा तीन वटा फाउण्डेसनमध्ये दुई वटा सकिएको छ भने हुग्दिको तीन वटा फाउण्डेसनमध्ये एउटा सकिएको छ”, उनले भने । यी दुई पुल आगामी वर्षको मनसुन सुरु हुनु अघि सक्ने लक्ष्य छ । -रासस