प्रहरीको उर्दी- खोक्ने खकार्ने नगर्नू, फोन गर्दा हेडफोन प्रयोग गर्नु

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले अनौठो उर्दी जारी गर्दै शहरवासीहरुलाई शान्त, तथा अवरोधमुक्त क्रियाकलाप गर्न उर्दी जारी गरेको हो ।
कार्यलयले ५ वटा मुख्य शीर्षक र उपशीर्षकमा ध्वनी र प्रदुषण नियन्त्रणका लागि विभिन्न सल्लाह दिएको छ ।
विभिन्न मानवीय क्रियाकलपाका कारण ध्वनि प्रदुषण उत्पन्न भएर गर्भवती महिला, बाबालिका, वृद्धवृद्धालाई असर गर्ने उक्त कार्यालयले जनाएको छ ।
राति अनावश्यक आवज नगर्ने शीर्षकमा कार्यालयले फोन कल गर्दा हेडफोन प्रयोग गर्न, वा म्यासेजमै सम्वाद गर्न सुझाव दिएको छ ।
यस्तै अबेरसम्म ठूलो स्वरले गफगाफ नगर्न र भान्सामा भाँडाकुँडाको ठूलो आवाज ननिकाल्न लगायतका सुझाव कार्यलयले दिएको छ ।
कार्यलयले दिएको ५ मुख्य सुझाव यस्ता छन् ।
१. राति अनावश्यक आवाज नगरौँ ।
> फोन कल गर्दा आवाज कम गरौं वा हेडफोन प्रयोग गरौं, म्यासेजमै संवाद गरौँ ।
> अबेरसम्म ठुलो स्वरले गफगाफ नगरौं ।
> पार्टी वा जमघट गर्दा छिमेकीलाई असजिलो हुने गरी नगरौँ ।
> अबेरसम्म म्युजिक बजाएर नाचगान नगरौं ।
> टेलिभिजन वा म्युजिक सिस्टम खोलेर सुत्ने कार्य नगरौं ।
> भान्सामा भाडाँकुडाँको ठुलो आवाज उत्पन्न नगरौं ।
> राती गेट ढकढकाउने वा बेल बजाउने कार्य नगरौं, आवश्यकता अनुसार फोनको प्रयोग गरेर ढोका खोल्न लगाऔं ।
२. बिहानको शान्ति कायम राखौं ।
> बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने खकार्ने नगरौं ।
> गेट खोल्दा र अन्य क्रियाकलाप गर्दा आवाज कम गरौं ।
> मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकालौं, ठूलो आवाज आएमा छिमेक भन्दा पर लगी चालु गरौँ ।
३. शौचालय र अन्य घरेलु क्रियाकलापमा सचेत बनौं ।
> राति अवेर शौचालय Flush गर्दा ध्वनी कम गर्ने उपाय अपनाऔं ।
> राति अवेर वा बिहान सबेरै प्रेसर कुकरमा सिठ्ठी लगाउने कार्य नगरौँ । घरमा संगीत अभ्यास गर्दा ध्वनी नियन्त्रण उपकरण प्रयोग गरौं । सडकमा अनावश्यक हल्ला नगरौं ।
४. सामाजिक र धार्मिक क्रियाकलापमा सचेत बनौं ।
५. अन्य
धार्मिक वा संस्कृतिक कार्यक्रममा ध्वनी नियन्त्रण गरौं ।
> मन्दिर, गुम्बा, मस्जिदमा ध्वनि नियन्त्रण गर्दै पूजा /प्रार्थना गरौं ।
> चुरोट वा फोहर जलाएर छिमेकमा धुवाँ र वातावरण प्रदूषण नगरौं । घर बाहिर फोहर नफालौं, निश्चित फोहर फाल्ने स्थानमा मात्र फालौं ।
> कुहिने र नकुहिने फोहरको समुचित व्यवस्थापन गरौं ।
> सडकमा जथाभावी फोहर गरी टोल छिमेकमा दुर्गन्धित नपारौं । छिमेकीसँग मिलेर नियमित सफाइ अभियान सञ्चालन गरौँ ।
> आफुले पालेको जनावरहरु (कुकुर, कुखुरा) आदिबाट छिमेकी र वातावरणलाई अशान्ति नगरौं ।
> प्रेशर हर्न वा मोडीफाई गरी ठूलो आवाज निकालेर सवारी साधन नचलाऔँ ।