पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा फर्काउँछौं : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा पुनः ल्याउन आँफूहरु सफल हुने बताएका छन् ।
सेन्टर फर पब्लिक पोलिसि रिसर्चद्वारा राजधानीमा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले संविधानले पूर्वराष्ट्रपतिलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन कुनै प्रतिबन्ध नगरेको बताए ।
उनले भने, ‘राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले कतै रोकेको छैन । संविधानले कोही पनि व्यक्तिलाई पार्टीमा लाग्न र राजनीति गर्न निषेध गरेको छैन।’
राष्ट्रपति बनेपछि मनोनीत, नियुक्त वा निर्वाचित पद भने त्यही अवस्थामा खाली हुने व्यवस्था भए पनि संविधानमा पूर्वराष्ट्रपतिलाई राजनीतिक दलमा प्रवेश गर्न रोक्ने प्रावधान छैन ।
‘संविधानले नै नरोकेको विषयमा कुनै पार्टीले विधान बनाएर रोक्न मिल्दैन । कुनै पनि बहानामा कसैलाई पनि सदस्य बन्नबाट रोक्न पाइँदैन,’ पाण्डेले भने ।