अफगानिस्तान भूकम्पमा परि २ सय ५० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं । अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको भूकम्प जाँदा कम्तिमा २ सय ५० जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी घाइते भएका छन्। घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ।
यो भूकम्प भारतीय समयअनुसार राति १२:४७ बजे जलालाबाद नजिक गएको हो। एनबीसी न्यूजले भूकम्पबाट २ सय ५० जनाको मृत्यु र ५ सय जनाभन्दा बढी घाइते भएको जनाएको छ।
नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्पको केन्द्र जमिनबाट १ सय ६० किलोमिटर तल थियो। यसको झट्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो।
पहिलो झट्कापछि लगातार परकम्पहरु आइरहेका थिए। ठूला परकम्पहरुमा ४.७, ४.३ र ५.० तीव्रता मापन भएको छ।
यसअघि अफगानिस्तानमा ७ अक्टोबर २०२३ मा विनाशकारी भूकम्प गएको थियो। सो भूकम्पमा ४ हजार जनाको मृत्यु भएको सरकारको तथ्यांक थियो। संयुक्त राष्ट्रसंघले भने १ हजार ५ सय जनाको मृत्यु पुष्टि गरेको थियो।
गएराति फेरि राजधानी काबुलबाट सडकमार्ग हुँदै १ सय माइल भन्दा कम दूरीमा रहेको जलालाबाद केन्द्र भएर भूकम्प गएको हो।