यी भूभागमा हुनेछ आज भारी वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह पनि रहेको छ ।
महाशाखाले हाल मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
आज राति देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।