मीन भामको ‘साम्बाला’ फिल्मले बर्लिनमा इतिहास रच्यो

No ads found for this position
No ads found for this position

काठमाडौं- मीन भामको बहुप्रतीक्षित फिल्म ‘साम्बाला’ले बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनौट हुने इतिहास रचेको छ ।

सोमबार बर्लिन फेस्टिभलका आयोजकले मुख्य प्रतिस्पर्धामा रहेका २० इन्टरनेसनल फिल्मको सूचीमा  मीनको ‘साम्बाला’ पनि रहेको जानकारी गराएसँगै नेपालले इतिहास बनाएको हो ।

नेपाली फिल्म अहिलेसम्म भेनिसको दोस्रो मुख्य विधा होरिजेन्टलमा छानिएको इतिहास थियो भने बुसानमा पनि मुख्य विधा बाहेकका अवार्डमा प्रतिस्पर्धी रहेका थिए ।

नेपाली फिचर फिल्म बर्लिनमा छनौट हुने इतिहास भने दीपक रौनियार निर्देशित ‘हाइवे’ले राखेको थियो । यो फिल्म ६२ औँ संस्करणमा आधिकारिक रुपमा छनौट भएको थियो । बर्लिनलाई युरोपको कान्स र भेनिसपछि तेस्रो ठूलो फिल्म फेस्टिभल मानिन्छ ।

सोमबार बर्लिनको लाइनअप सार्वजनिक भएसँगै पत्रकार सम्मेलनमा गरेका मीन भामले फिल्म बनाउन करिब ८ वर्ष लागेको अनुभव सुनाएका थिए । कहिले पैसा त कहिले कोभिडका कारण समय लागेको बताउँदै उनले यो फिल्म बनाउने प्रक्रियामा आफ्नो जीवनमा पनि धेरथोर बदलिएको बताएका थिए ।

‘कालो पोथी मैले दम्भमा बनाएको थिएँ । तर यो फिल्म चाहिँ आफ्नै जिज्ञाषा शान्त पार्न,’ मीनको भनाइ थियो, ‘यो फिल्म बनाउन मैले तिब्बतीयन भाषा सिकेँ । फिल्म बनाउँदा बनाउँदै आध्यात्मिक रुपमा पनि आफूमा धेरै परिवर्तन महसुस गरेँ ।’डोल्पाको ४ हजार मिटर माथिको उचाइमा खिचेको फिल्मको पूर्व तयारीका लागि लामो समय लागे पनि फ्लोरमा गइसकेपछि भने फिल्मको सुटिङ जम्मा २३ दिनमा सकिएको थियो । उनले अप्ठेरो भूगोलमा फिल्म बनाउने श्रेय कास्ट एन्ड क्रुलाई दिएका थिए ।

मीनले अविनाश विक्रम शाहसँग मिलेर लेखेको कथा बहुपति प्रथाको पृष्ठभूमिमा बुनिएको छ । हराएको श्रीमान्को खोजीमा निस्किएकी श्रीमतीले आफ्नै देवर (पति)सँग गर्ने यात्रा र यात्राका क्रममा उनीहरु दुवैको जीवनमा आउने परिवर्तन  फिल्मको मुख्य कथा रहेको मीनले बताएका छन् । थिन्ले लामो र सोनम थोप्देनले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

थिन्लेले यसअघि विपिन कार्कीसँग ‘नाका’मा अभिनय गरेकी थिइन् भने सोनमले पूजा शर्मासँग ‘सम्हालिन्छ कहिले मन’मा अभिनय गरेका थिए । ९ लाख ८० हजार युरो अर्थात् १४ करोड हाराहारी कुल लागत रहेको फिल्म बर्लिनमा फेब्रुअरीको १५ देखि २५ तारिखको बीचमा प्रिमियर हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *