‘कालो चस्मा लाउ है मैया’ आयो रिमेकमा (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- ‘कालो चस्मा लाउ है मैया’ गीत रिमेक गरिएको छ । निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्र ‘पर्खी बसें तिमीलाई’ मा उक्त गीतलाई समावेश गरेका हुन् । उक्त गीत सार्वजनिक गर्दै उनले चलचित्र पुस २७ मा प्रदर्शन गरिने जानकारी दिए ।

‘यो विशुद्ध प्रेम कथानक चलचित्र हो । त्यसैले यसको सुरुआत गीतमार्फत गरेका छौँ’, निर्देशक श्रेष्ठले भने,’पर्खी बसें झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई चलचित्र उद्योगले स्वागत गर्नेमा विश्वस्त छु ।’

यस चलचित्रबाट अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । उनीहरू दुईले अभिनय सिकेर चलचित्रमा डेब्यु गर्न लागेका हुन् । आफूले सुन्दै हुर्किएको गीतमा नृत्य गर्न पाउँदा निकै खुसी लागेको अभिनेत्री रक्षाले बताइन् ।

‘यो गीत मलाई निकै मन पर्छ । अहिले यसमै नृत्य गर्न पाए । पाउने प्रतिक्रियाको पर्खाइमा छु’, रक्षाले भनिन् । अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन् पाउँदा खुसी व्यत गरे । ‘दीपक सर जस्तो लिजेन्ड निर्देशकको एक्सन कटमा काम गर्न पाए । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएको छु’, किरणले भने ।

सार्वजनिक गीत ‘कालो चस्मा’ चलचित्र ‘बादलपारी’ मा समावेश लोकप्रिय गीत हो । यसको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङगीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

पाटन र भक्तपुर दर्बार स्क्वाएरमा छायांकन गरिएको गीतको नृत्य निर्देशक निशा रसाइलीले गरेकी छिन् । निर्देशक श्रेष्ठले पुरानो सर्जकलाई सम्मान गर्दै गीतको भावमै रहेर नयाँ पुस्ताका लागि गीत र भिडियो तयार गरिएको बताए ।

‘मैले नयाँ कलाकारसँग पहिला पनि काम गरेको छु । अहिले पनि उहाँहरूको सक्षमता देखेर काम गराएको छु । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाईएको छ’, निर्देशक श्रेष्ठले भने ।

रोमान्स फिल्म्स र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको चलचित्रमा अनिशा रसाइली, शिव श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरंजन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *