बेलायतमा स्वास्थ्य रोजगारीका लागि ६०९ आवेदन, ३० नर्स मात्र योग्य

No ads found for this position
No ads found for this position

काठमाडौं- बेलायत स्थास्थ्य क्षेत्रको रोजगारीमा जानका लागि ६ सय ९ जना नेपाली नर्सले आवेदन दिएका छन् । गत वर्ष नेपाल र बेलायत सरकारबीच भएको श्रम समझदारीअनुसार पहिलो चरणमा एक सय नेपाली नर्स बेलायत स्वास्थ्य क्षेत्रको रोजगारीमा पठाउन सरकारले गत साउन महिनामा आवेदन खुलाएको थियो ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सय नेपाली नर्सका लागि गत जुलाई २० अर्थात् साउन ४ गते आवेदन माग गरेको थियो ।

सरकारले खुलाएको आवेदनमा अहिलेसम्म ६ सय ९ जना नर्सहरूको आवेदन दिएको श्रम मन्त्रालयले जनाएको छ ।


बेलायत स्वास्थ्य क्षेत्रको रोजगारीमा जानका लागि अहिलेसम्म ६ सय ९ जनाले वैदेशिक रोजगार विभागको सिस्टममा आवेदन दर्ता गराएका छन् । आवेदन दिएकामध्ये सबै प्रक्रिया पूरा गरेर आवेदन ३० जना नर्सले मात्र दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलका सहायक प्रवक्ता डम्बर बहादुर सुनुवारले बताएका छन् ।

बेलायत सरकारसँग भएको श्रम सम्झौताअनुसार सबै मापदण्ड पूरा गरी आवेदन पेस गरेका ३० जनामध्ये दुई जनाले आईएलटीएसको नम्बर राखेर आवेदन पेस गरेका छन् भने ओईटी गर्ने २८ जना रहेको उनले बताए ।

‘बेलायतसँग भएको श्रम सम्झौतामा अंग्रजी भाषा परीक्षण आईएलटीएसमा औसत ७ र अक्यूपेशनल इङ्लिस टेस्ट ओईटीमा ‘बी’ अङ्क ल्याएको हुनु पर्नेछ । अंग्रेजी भाषा परीक्षाको समेत नम्बर राखेर आवेदन पेस भएको संख्या ३० जनाको मात्र छ ।’ उनले भने, ‘बेलायत रोजगारीका लागि आवेदन दिन नेपाल नर्सिङ काउन्सिलमा दर्ता भई दुई वर्षको अनुभव भएको हुनुपर्छ । साढे दुई महिनाको अवधिमा ६ सय ९ जनाले आवेदन दर्ता गराए पनि मापदण्ड पूरा गरेर ३० जनाको मात्र आवेदन पेस गरेका छन् ।’

अहिलेसम्म आवेदन दिने नर्सको संख्या हेर्ने हो भने, बेलायतले मागेको कामदारको संख्या परिक्षामा सामेल पुर्याउन मुश्किल हुने उनको भनाइ छ ।

इच्छुक नर्सले १९ अक्टोबर २०२३ सम्म वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत आवेदन दिन सक्ने श्रम मन्त्रालयले जनाएको छ । नेपाल र बेलायतबीच सरकारी संयन्त्रमार्फत नर्स लैजानका लागि २२ अगस्ट २०२२ मा श्रम समझदारी भएको थियो ।

मापदण्ड
बेलायत स्वास्थ्य क्षेत्रको रोजगारीमा जाने स्टाफ नर्स, बीएन, बीएससी नर्सिङ, एमएन गरेकाहरूले आवेदन दिन पाउँछन् । भने, अंग्रेजी भाषा परीक्षा आईएलटीएसमा औसत ७ र ओईटीमा ‘बी’ अङ्क ल्याएको हुनु पर्नेछ ।

बेलायतको कानुनअनुसार लाइसेन्स लिएपछि पारिश्रमिक र सेवा सुविधा थप बढ्न सक्छ । यो भर्ना प्रक्रियालाई नेपाल र बेलायतले पाइलट परीक्षणको रूपमा लिएको छ ।

दुई देशबीच भएको श्रम समझदारी अनुसार भर्ना प्रक्रियामा रोजगारदाता, कुनै संस्था वा म्यानपावर कम्पनी वा कुनै पनि एजेण्ट समावेश हुने छैनन् । भर्नाको सबै प्रक्रिया वैदेशिक रोजगार विभाग र ह्म्यासपेयर हस्पिटल (एनएचएस) फाउन्डेसन ट्रस्ट युकेले गर्ने छन् ।

मासिक ४ लाखसम्म तलब
बेलायतमा जाने नेपाली नर्सले मासिक ४ लाख नेपाली रुपैयाँसम्म तलब पाउने श्रम मन्त्रालयले जनाएको छ भने छनौट भएर वेलायत गएको नेपाली नर्सहरुले त्यहाँको स्वास्थ्यकर्मी सहर अधिकार, सेवा सुविधा, सुरक्षा र सम्मान पाउने श्रम मन्त्रालयको भनाइ छ ।

नेपाल र बेलायत सरकारबीच भएको श्रम सम्झौतामा त्यहाँ जाने स्थास्थ्य क्षेत्रका कामदारले छनौट भएपछि लागत खर्च तिर्न नपर्ने श्रम मन्त्रालयले जनाएको छ ।

सरकारले बेलायतका स्वास्थ्य क्षेत्रममा नेपाली नर्स पठाउन श्रम सम्झौता गरेको एक वर्षपछि मात्र परिक्षा गराउन लागेको हो । नेपाली नर्सका लागि बेलायत राम्रो रोजगारगन्तव्य देश बन्ने श्रम मन्त्रालयल बताउँदै आएपनि आवेदन दिन नर्सको संख्या हेर्दा मागअनुसारका नर्स पठाउन समस्या हुने श्रम मन्त्रालयकै कर्मचारी बताउँछन् ।

नेपालका विभिन्न अस्पताल र स्वास्थ्य क्षेत्रमा कार्यरत अथवा कुनैपनि मान्यता प्राप्त हस्पीटलमा २ वर्षको अनुभावसँगै अंग्रेजी भाषा राम्रो भएका नर्स मात्र बेलायतले रोजगारीमा लिनेगरी श्रम सम्झौता भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *