माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा

No ads found for this position
No ads found for this position

फाइल तस्बिर।

काठमाडौं- नेपालले १९ औँ एसियाली खेलकुदको क्रिकेटमा माल्दिभ्सलाई एक सय ३८ रनले हराएको छ । जितसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ ।

नेपाल समूह ‘ए’ मा अपराजित रहँदै क्वाटरफाइनलमा पुगेको हो । जितका लागि २ सय १३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९ ओभर ४ बलमा ७४ रनमा अलआउट भयो ।

माल्दिभ्सका घानी अब्दुलले सर्वाधिक ३६ रन बनाए । नेपालका तीव्र गतिका बलर अभिनाश बोहोराले ६ विकेट लिए । उनी टी-२० मा ६ विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । यसअघि सन्दीप लामिछाने र करण केसीले समान ५/५ विकेट लिएका थिए ।

हान्झाउमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाए । कुशल मल्ल ४७ रनमा अविजित रहे । कुशल भुर्तेल र गुलशन झाले समान ३५ रन जोडे ।

आसिफ शेख र दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । एक वर्षपछि नेपाली टोलीमा खेल्ने मौका पाएका विकेट किपर विनोद भण्डारी १३ रनमा आउट भए । त्यस्तै, सन्दीप जोरा ५ रनमा आउट भए । माल्दिभ्सका बदिउ इस्माइल नवाजले सर्वाधिक ३ विकेट लिए ।

नेपालले पहिलो खेलमा मङ्गोलियालाई २ सय ७३ रनले हराएको थियो भने माल्दिभ्सले पनि पहिलो खेलमा मङ्गोलियालाई ९ विकेटले हराएको थियो । नेपाल र मङ्गोलियाबीचको खेलमा विभिन्न विश्व कीर्तिमान समेत बनेका थिए । टी-२० मा ३ सय रन बनाउने नेपाल पहिलो देश बनेको थियो भने कुशल मल्लले सर्वाधिक छिटो ३४ बलमा शतक र दिपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतकको कीर्तिमान बनाएका थिए ।

क्वाटरफाइनलमा भारत, पाकिस्तान, बङ्लादेश, अफगानिस्तान र श्रीलङ्का छन् । क्वाटरफाइनलको ड्रु भोलि हुनेछ । क्वाटरफाइनलका खेलहरु मङ्गलवार र बुधवार हुनेछन् । शुक्रवार सेमिफाइनल र फाइनल शनिवार हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय