बैंकमा ४ खर्ब लगानी योग्य पैसा थन्कियो, अन्तर बैङ्क ब्याजदर साढे २ प्रतिशत झर्‍यो

No ads found for this position
No ads found for this position

काठाडौं- बैङ्कको अन्तर ब्याजदर घटेको छ । हाल अन्तर बैङ्क कारोबारको ब्याजदर साढे २ प्रतिशतको बिन्दुमा पुगेको हो ।
नेपाल राष्ट्र बैङ्कका अनुसार हाल यस्तो ब्याजदर २.६४ प्रतिशत कायम भएको छ । यो गत बिहीबारसम्मको अपडेट हो । गत बुधबारको तुलनामा भने ०.१२ प्रतिशतले घटेको हो ।

पछिल्लो समय बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गएपछि नै अन्तर बैङ्क कारोबारको ब्याजदर पनि घट्दै गएको हो ।

विशेषगरि बैङ्कहरूमा तरलता बढ्दै गएपछि अन्तर बैङ्क ब्याजदर घटेको हो । बिहीबारसम्म बैंकिङ्ग प्रणालीमा ५७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप छ । बैङ्क तथा वित्तीय संस्थामा एकै दिन ७ अर्ब रुपैयाँले निक्षेप बढेको छ । गत बुधबारसम्म भने ५७ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप बैङ्क तथा वित्तीय संस्थाहरूमा थियो ।

हाल बैङ्कहरूको कर्जा निक्षेप अनुपात (सिडी) रेसियो पनि ८३ प्रतिशतको वरिपरि नै छ । गत बुधबारसम्म ८२.४५ प्रतिशत रहेको सिडी रेसियो बिहीबार भने ८२.४१ प्रतिशत कायम भएको छ । बैङ्कहरू कर्जा प्रवाह गर्ने मामिलामा सहज अवस्थामा देखिन्छन् ।

बैंकिङ्ग प्रणालीमा ४ खर्ब बढी लगानीयोग्य रकम थुप्रिएको छ । बैङ्कहरूले सिडी रेसियो ९० प्रतिशतसम्म कायम गर्ने गरी कर्जा प्रवाह गर्न पाउँछन् । तर, अहिले बैङ्कहरूको सिडी रेसियो ८३ प्रतिशत भन्दा पनि कम छ ।

यता, वाणिज्य बैङ्कमा भने एकै दिन ८ अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । गत बुधबारसम्म वाणिज्य बैङ्कमा ५० खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप थियो । तर, बिहीबार भने बढेर ५० खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप सङ्कलनको तुलनामा कर्जा लगानी भने बढ्न सकेको छैन । हाल बैङ्क तथा वित्तीय संस्थाले ४९ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

गत बुधबारको तुलनामा भने यस्तो कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेको हो । यता, वाणिज्य बैङ्कहरूको कर्जा लगानी पनि एकै दिन ४ अर्बले बढेर ४३ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । तर, गत बुधबारसम्ममा भने बैङ्कहरूले ४३ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

बैङ्कहरूमा कर्जा माग नै अलि कम रहेको छ । बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण कर्जाको माग बढ्न नसकेको हो ।

अहिले बजारमा बस्तु तथा सेवाको माग घटेको छ । उपभोक्ताहरूको क्रय शक्ति पनि घटेको छ । घरजग्गा व्यवसाय पनि उत्साहजनक छैन ।

त्यसमाथि बैङ्क कर्जाको ब्याजदर पनि उच्च नै छ, यो अवस्थामा बैङ्कबाट महँगो दरमा ऋण लिए व्यवसाय गर्ने, घरजग्गा खरिदबिक्री गर्न सक्ने अवस्था पनि छैन । सोही कारण बैङ्कहरूमा कर्जाको माग बढ्न नसकेको बताइन्छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *