कर्णालीमा प्रहरीप्रति नागरिकको बढ्दो भरोसा, फोनबाटै उजुरी दिनेको संख्यामा उल्लेख्य वृद्धि

No ads found for this position
No ads found for this position

सुर्खेत ।

घटना नम्बर- १

भदौ तीन गते एक हाईस नेपालगन्जबाट सुर्खेत आइरहेको थियो । उक्त हाइसमा एक जनाले शंकास्पद गतिविधि गर्दै गरेको सोही गाडीमा सवार एक जनाले देखेछन् । उनलाई उक्त व्यक्ति कुनै न कुनै क्रियाकलापमा आवद्ध भएको शंका लागेकै कारण उनले आफ्नो घरमा टाँसिएको स्टीकरमा उल्लिखत नम्बरमा फोन गरे ।

उक्त फोन आएपछि इलाका प्रहरी कार्यालय छिन्चुको प्रहरी जाँचका लागि खटियो । नभन्दै लागुऔषध व्राउन सुगर सहित एक जना पक्राउ परे । गुर्भाकोट नगरपालिका वडा नं. तीनका मनिम श्रीष पक्राउ परेका थिए । हाल उनि प्रहरी हिरासतमा छन् ।

घटना नम्बर- २

लागु औषध व्राउन सुगरमा मदन शाहीलाई भदौ १० गते बाबियाचौरमा इलाका प्रहरी कार्यालय बावियाचौरले पक्राउ गर्‍यो । उनको साथबाट प्रहरीले लागुऔषधसमेत बरामद गर्‍यो । शाही बस्ने नजिकैका छिमेकीले इलाका प्रहरी कार्यालय बाबियाचौरमा फोन गरेर उजुरी दिएका थिए । सोही आधारमा मदन शाही प्रहरीको नियन्त्रणमा परेका थिए ।

घटना नम्बर- ३

वीरेन्द्रनगरको वडा नं. ७ मा रहेको दुल्लु खड्का होटलबाट प्रहरीले भदौ ६ गते १३ जना जुवा खेलिरहेको अवस्थामा रंगेहात फेला पार्‍यो । छिमेकीबाट आएको फोन उजुरीका आधारमा प्रहरीले छापा हान्दा एक लाख पचास हजार नगदसहित पक्राउ गरेको थियो ।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशको सहकार्यमा सुरु भएको सुरक्षित कर्णाली अभियान अन्तरगतको नागरिक सुरक्षा अभियान प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको यी माथिका तीन घटनाले देखाउँछ ।

असार ३१ गते कर्णाली प्रदेश सरकारको समन्वयमा प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले हरेक नागरिकका घरमा फोन नम्बर सहितको स्टीकर अभियान सुरु गरेको थियो । उक्त अभियान हालसम्म कर्णालीका तीन लाख ७१ हजार घरधुरीमध्ये एक लाख ५६ हजार भन्दा बढि घरधुरीमा पुगिसकेको छ ।

प्रहरीसामू उजुरी गर्न लाज मान्ने, डराउने वा प्रहरीले गुनासो सुन्छ कि सून्दैन भन्ने आशंका गर्नेहरु यो अभियानबाट प्रहरीमाथि भरोसा बढाइरहेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मण बहादुर शाहीले प्रहरीले घरमा टाँसेको टीकरण अभियानले उत्साह प्रदान गरेको बताए ।

‘विगतमा मलाई बढिमा दिनको एक सय कल पनि आउँदैन थिए ।’ उनले भने, ‘तर अहिले भने झण्डै साढे दुई सय भन्दा बढि फोन आउने गरेका छन् । सामान्य घरमा झैझगडा देखि ठूल्ठूला अपराधका खबर समेत आउने गरेका छन् । यसले गर्दा प्रहरीलाई गाउँमा कहाँ के भइरहेको छ भन्ने जानकारी सहजै मिल्न थालेको छ । यो अभियान प्रभावकारी रुपमा अघि बढिरहेको छ ।’

उनले घरमा स्टीकर टाँस गरेपछि केहि व्यक्तिहरु कानूनी दायरामा ल्याइएको बताए ।

‘हाम्रा लागि मुख्य आधार नै सूचना हो । सार्वजनिक सुरक्षाका लागि यो अत्यावश्यक छ ।’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले भने, ‘स्टीकर टाँस अभियानको अपेक्षा अनुसार सोचेभन्दा पनि बढी सूचना प्राप्त गरिरहेका छौं । सामान्य खालका झैझगडा देखि गम्भीर प्रकृतिका अपराधका सूचना पनि आइरहेका छन् । यसबाट हामीलाई ठूलो राहत मिलेको छ ।’ उनले भने, ‘९८ जना जनशक्ति अभावका बीचमा प्रहरीले काम पनि पाइरहेको छ । चौविसै घण्टा फोन आउने भएका कारण हामीलाई काम गर्न पनि सहज भएको छ । हालसम्म सुर्खेतमा २० हजार ६२० ओटा घरमा स्टीकर टाँस भइसकेको छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *