केही दिन यी प्रदेशमा अझै भारी वर्षा हुने

No ads found for this position
No ads found for this position

काठमाडौं- मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशभर बदली रहनुका साथै धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । ‘मनसुन न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले केही दिनलाई देशभर बदली भई वर्षा हुने देखिन्छ’, उनले भने। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको उनले बताए ।

‘नेपालमा मनसुनी वायुका साथै भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ’, मौसमविद् लामिछानेले भने, ‘पछिल्लो एक घन्टादेखि देशभर बदली रहनुका साथै धेरै स्थानमा वर्षा भइरहेको छ ।’ उनका अनुसार कोशी, मधेस, बागमती, लुम्बिनी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा दिउँसो कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै मधेस तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाकोसमेत सम्भावना रहनुका साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । -रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *