मस्त निन्द्रामा भूकम्प आएझैँ जब हात्तीले घर हल्लाउन थाल्यो…

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

टीकापुर- २ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार राति मस्त निन्द्रामा थिए । निदाएका कालीदेवीको घर एक्कासि हल्लिन थाल्यो । कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको रहेछ ।

कालीदेवीले केही सोच्नै सकिनन् । हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो ।

‘हात्तीले पछाडि घरमा हान्न थाल्यो, भूकम्प आयो कि भन्ने सोचेँ, घरका भित्ता भत्कन थालेपछि टर्च बालेर हेर्दा हात्तीले मच्चिएको रहेछ ।’

हामी घरमा चार जना थियौँ, छोरी, छोरा र १३ वर्षको नाति । बालबच्चालाई कसरी उठाएर सुरक्षित स्थानसम्म पुर्‍याए थाहा छैन ।”

हात्तीले पछाडितिर भत्काउन थालेपछि अगाडिपट्टिको ढोकाबाट उनको परिवार भाग्न सफल भएको थियो । कालीदेवीका अनुसार हात्ती अगाडीतिरबाट आएको भए भाग्न सकिने थिएन ।

‘हात्ती देखेपछि आँखा देखिन, डरले मुटु कप्यो, ज्यान जोगाउन ढोका खोलेर भाग्यौँ’, उनले भनिन्- भाग्दा-भाग्दै बर्दिया जाने पुलसम्म पुगिएछ। हामी कराउँदै भागेका थियौँ । खुट्टामा चप्पल पनि थिएन । ज्यान मात्र सम्झियौँ ।’

कालीदेवीका श्रीमान् दानबहादुर सुनार रोजगारीका लागि भारतमा छन्। परिवार कराउँदै दौडन थालेपछि गाउँले हल्ला सुनेर हात्ती भागेको थियो ।

राजीपुरका स्थानीय हात्तीको त्रासका कारण रातिको समयमा सुत्न मुस्किल भएको बताउँछन् । यहाँ जङ्गली हात्तीले अहिलेसम्म चार घर भत्काइसकेको स्थानीयको भनाइ छ ।

विगतमा पनि यहाँ हात्तीले नोक्सानी गर्ने गरेको स्थानीय बताउँछन् । यसरी पटक पटक नोक्सानी पुर्‍याउँदा पनि स्थानीय सरकारले चासो नदेखाएको उनीहरूको गुनासो छ । गाउँमा हात्तीको आक्रमण बढिरहेकाले नागरिकको सुरक्षाका लागि स्थानीय सरकारले सडक बत्तीको व्यवस्था गर्नुपर्ने स्थानीय हरी सुनारले बताए ।

हात्तीले क्षति गरेको स्थानको वडाध्यक्ष दीपक चौधरीले अनुगमन गरेका छन् । अनुगमनका क्रममा एउटा घर, धान बालीमा क्षति हुनुका साथै भकारीमा रहेको धान खाएको उनले जानकारी गराए । क्षतिको एकिन विवरण सङ्कलन गरी त्यहीअनुसार राहत उपलब्ध गराउने चौधरीले बताए।

‘हात्ती तथा जङ्गली जनावरको जोखिम छ, सुरक्षित हुनुस् भनी स्थानीयलाई नियमित सूचना जारी गरिरहेका छौँ, चौधरीले भने, ‘जङ्गल बस्ती नजिक भएकाले यहाँका नागरिक असुरक्षित छन् । क्षति भएका परिवारलाई राहत दिन पालिकाले सक्दो सहयोग गर्नेछ ।’ -रासस



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्