स्पष्टीकरणको मौका नदिई प्रधानमन्त्री र गृहमन्त्री राजीनामा माग्नु राम्रो होइन : प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा गलत ‘कल्चर’ बसाउन खोजिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

साताव्यापी इटालीको भ्रमण सकेर स्वदेश फर्किएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्राधनमन्त्री प्रचण्डले स्पष्टीकरणको मौका नै नदिई राजीनामा माग्ने राजनीतिक ‘कल्चर’ बसाउन खोजिएको बताए ।

एक सय किलो सुन बरामद प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गरेको सन्दर्भलाई लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरणको मौकासमेत नदिएर राजीनामा माग्ने राजनीतिक ‘कल्चर’ बसाउन खोजिएको टिप्पणी गरेका हुन् ।

‘राजनीतिक उद्देश्यको निम्ति हत्त न पत्त प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्रीको स्पष्टीकरण दिने मौका पनि नदिई राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौँ भनेर पहिल्यै घोषणा गर्ने राजनीति कल्चरले हामीलाई राम्रो ठाउँतिर लाँदैन ।’

विभागीय मन्त्रीको संरक्षणविना विमानस्थलबाट ठूलो परिणाममा सुन आयात हुन नसक्ने भन्दै एमालेले अर्थमन्त्री डा. प्रकाशरण महत र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै सदन अवरुद्ध गरेको थियो । यसप्रति पनि प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि व्यक्त गरेका हुन् । केही साताअघि एमालेले विवादास्पद अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *